आम निर्वाचन लोकतन्त्रको आधारशिला हो, जहाँ नागरिकले आफ्नो मताधिकार प्रयोग गरी आगामी पाँच वर्षका लागि देशको नेतृत्व छान्ने अवसर पाउँछन् । निर्वाचन स्वतन्त्र, भयरहित र दबाबमुक्त हुनु लोकतन्त्रको वास्तविक मर्म हो ।
पहिले ‘मसल’ (शक्ति) र ‘मनी’ (पैसा) मुख्य चुनौती हुन्थे भने अहिले मोबाइल फोनमार्फत आउने भ्रामक म्यासेज ठूलो चुनौती बनेको छ । राजनीतिक दलहरूले सामाजिक सञ्जालमा सनसनीपूर्ण समाचार, पुराना भिडियो वा फोटो नयाँ सन्दर्भमा जोडेर मतदातालाई भ्रमित गर्ने प्रयास गरिरहेका छन् ।
सामाजिक सञ्जालमा प्राप्त सामग्रीलाई स्रोत जाँच नगरी सेयर, लाइक वा कमेन्ट गर्दा मतदाताले अनजानेमा ‘भ्रम फैलाउने’ कार्यमा योगदान पुर्याउँछन् । यस्तो डिजिटल वातावरणमा मतदाताले आफूले प्राप्त सूचना सत्य हो कि झूटो हो भनेर छुट्याउन साक्षर हुनु आवश्यक छ । सूचना वा भिडियोको मूल स्रोत, पुरानो वा नयाँ सन्दर्भ, अन्य विश्वसनीय मिडियाले पुष्टि गरेको छ कि छैन जस्ता प्रश्नहरू सोध्नुपर्छ ।
डिसइन्फर्मेसन (जानाजानी फैलाइएको गलत सूचना) र मिसइन्फर्मेसन (नबुझी फैलाइएको गलत सूचना) निर्वाचन समयमा बढी देखा पर्छ । यसले मतदाताको धारणा मात्र होइन, समाजको विश्वास र स्थायित्वमा समेत असर पुर्याउँछ । सामाजिक सञ्जालको एल्गोरिदमले प्रयोगकर्तालाई सीमित सामग्री मात्र देखाउँछ, जसले फरक विचार वा तथ्यबाट टाढा राखेर एकपक्षीय दृष्टिकोण बनाउँछ ।
मतदाताले डिजिटल सचेतना अपनाएर मात्र सही निर्णय लिन सक्छन् । मिडियाले तथ्य जाँचमा प्राथमिकता दिई सत्य जानकारी प्रस्तुत गर्नु, र निर्वाचन आयोगले आधिकारिक सूचना सहज रूपमा उपलब्ध गराउनु महत्वपूर्ण छ । प्रविधि आफैंमा खराब होइन, तर यसको प्रयोग नागरिकको जिम्मेवारीमा निर्भर छ । गलत सूचना फैलिन नदिई, सत्यलाई प्राथमिकता दिनु भनेको लोकतन्त्रको संरक्षण गर्नु हो ।