आज नेपाली इतिहासको सबैभन्दा रहस्यमय र दर्दनाक घटनामध्ये एक दरबार हत्याकाण्ड भएको दिन हो । वि.सं. २०५८ साल जेठ १९ गतेको साँझ दरबारभित्र भएको उक्त हत्याकाण्डले केवल राजतन्त्रलाई नै होइन, सम्पूर्ण मुलुकको राजनीतिक संरचना र भविष्यलाई समेत हल्लाइदिएको थियो ।
के भयो त्यो रात ?
२०५८ साल जेठ १९ गते शुक्रबारको साँझ नारायणहिटी दरबारस्थित त्रिवेणी सदनमा आयोजना गरिएको सपरिवार भोजका क्रममा एकाएक गोली चल्यो । त्यो रात राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायत राजपरिवारका नौ सदस्यको ज्यान गएको थियो । आधिकारिक विवरणअनुसार, गोली चलाउने व्यक्ति युवराज दीपेन्द्र स्वयं थिए, जसले पहिलो राजा, रानी र अरु सदस्यहरूलाई मारेपछि अन्ततः आफूलाई पनि गोली हानेका थिए ।
तीन दिनपछि उनी राजा घोषणा भए र त्यसको केही दिनपछि उनकाे निधन भयो ।
तर घटना यत्तिमै टुंगिएन । यो हत्याकाण्डबारे धेरै प्रश्नहरू उठे — के दीपेन्द्र नै दोषी थिए ?, के यो केवल पारिवारिक विवादको परिणाम थियो ?, कि यो पूर्वनियोजित षड्यन्त्र ? यी सबै प्रश्नहरू अहिलेसम्म अनुत्तरित नै छन् ।
अधिकारिक छानबिन र उठेका विवादहरू
हत्याकाण्डपछि तत्कालीन सरकार (गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा) ले तत्कालीन प्रधानन्यायाधीश किर्तिनिधि विष्ट र सभामुख तारानाथ रानाभाट नेतृत्वको दुई सदस्यीय आयोग गठन गर्यो । आयोगले करिब दुई हप्ता भित्रमा प्रतिवेदन बुझायो र हत्याकाण्डमा युवराज दीपेन्द्र नै जिम्मेवार रहेको निष्कर्ष सार्वजनिक गर्यो ।
तर उक्त निष्कर्षमा जनता र प्रेक्षकहरूको विश्वास जमेन । आयोगले प्रत्यक्षदर्शी, सुरक्षाकर्मी वा मेडिकल रिपोर्टको गहिरो अध्ययन नगरेको, निष्पक्ष अनुसन्धान हुन नसकेको, शवपरीक्षण गोप्य ढंगले गरिएको लगायत थुप्रै प्रश्न उठे । खासगरी, घटनापछि राजा बनेका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहको भूमिकाप्रति जनतामा गहिरो शंका रह्यो ।
राजतन्त्रको पतनको सुरुवात
दरबार हत्याकाण्ड नेपाली राजतन्त्रको अन्त्यतर्फको यात्रा हो भन्नेमा धेरैले सहमति जनाएका छन् । वीरेन्द्र जस्तो लोकतान्त्रिक सोच राख्ने राजा मारिएपछि ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिए र २०६२/६३ को जनआन्दोलनसम्म लगातार जनअसन्तोष बढ्दै गयो । अन्ततः २०६५ सालमा संविधानसभा मार्फत नेपाललाई गणतन्त्र घोषित गरियो । त्यसपछिको नेपाली इतिहास दरबार विना नै लेखिएको छ ।
परिवारिक घटना कि योजनाबद्ध षड्यन्त्र?
घटनाबारे हालसम्म विभिन्न कति पुस्तक, वृत्तचित्र र पत्रकारिता सामग्रीहरू प्रकाशित/प्रसारित भइसकेका छन् । केही विश्लेषकहरू घटनालाई पारिवारिक मतभेद र प्रेम सम्बन्धको त्राससँग जोड्छन् भने अन्य विश्लेषकहरू यो नियोजित षड्यन्त्र भएको, विदेशी शक्ति, राजदरबारभित्रका गुटबन्दी, वा व्यापारिक हितसम्बन्धले यो घटना निम्त्याएको बताउँछन् । तर सत्य के हो भन्ने अझै प्रमाणित भइसकेको छैन् ।
राष्ट्रिय स्मृति र पीडाको दिन
दरबार हत्याकाण्ड केवल राजपरिवारका सदस्यको निधन मात्र होइन, नेपाली राष्ट्रको एक कालखण्डको अवसान थियो । आजको दिन धेरै नेपालीका लागि शोक, शंका र क्षोभको प्रतीक हो । केहीका लागि यो राजनीतिक मोडको दिन हो, जसले नेपाललाई गणतन्त्रमा पुर्यायो । अन्यका लागि, अझै पनि न्याय नपाएको क्रूर र अपारदर्शी घटना ।
आज २४ वर्ष बितिसक्दा पनि त्यो रातको गुथा अझै खुल्न सकेको छैन् ।